Breaking News

डा. केसीको समर्थनमा माइतीघरमा पनि अनशन


चिकित्सा शिक्षा क्षेत्र सुधारका लागि विभिन्न माग राख्दै सात दिनदेखि आमरण अनशनमा रहेका प्राध्यापक डाक्टर गोविन्द केसीको समर्थनमा काठमाडौंमा रिले अनशन सुरु भएको छ । प्रा.डा. केसीले उठाएका मागमा सरकार तथा सरोकारवाला निकायहरू संवेदनशीन नभएको रिले अनशनमा सहभागिले गुनासो गरेका छन् । एमआरआर र सोलिडारिटी फर डा. जिकेसी एलाएन्सको संयुक्त पहलमा माइतीघर मण्डलामा पनि रिले अनशन सुरु गरेको एमआरआरका सदस्य सन्तोष थापाले बताए । 

उनले भने ‘केसीका माग पुरा गराउन सरकारलाई दबाब दिन रिले अनशन सुरु गरेका हौं । पछि आमरण अनशन पनि सुरू गर्न सकिन्छ ।’ शनिबार ३ बजेदेखि सुरु भएको रिले अनशनमा एक पटकमा सात जना बसेको छन् भने ६/६ घण्टामा अनशनमा सहभागि फेरिन्छन । जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराई अनशन बसेका उनीहरुले डा. केसीको माग पुरा नहुँदासम्म अनशन जारी राख्ने बताए । पटक पटक अनशन बस्दै आएका डा. केसीले ११औं पटकको अनशनमा चिकित्सा शिक्षा ऐन पारित हुनुपर्ने मुख्य माग राखेका छन् । ११औं अनशन सुरु गरेका डा. केसीको ७ दिन पुग्दा उनको स्वास्थ्य अवस्था कमजोर हुँदै गएको छ ।